जाँच दिन जादा.....

जाँच दिने ठाउँ मलाई जैले पनि रमाइलो लाग्छ। धेरै मान्छे धेरै कुरा। एक दुई जाना मान्छे मैले बिर्सिनै नसक्ने थिए। जादा जादै बाटैमा एउटीले हल्का डोज दिन भ्याइहाली 'तिमी त क्लास आउँदैनौ हैन र, कसरी दिन्छौ हौ जाँच? हामी सधैं क्लास जाने लाई त डरले कस्तो भछ। मलाई च्वास्स भैहालो। हतोत्साहित भको हो कि हो कि जस्तो फील गर्दै क्लासतिर हिने। बाटामा एउटिले 'मलाई त institution भनेको के हो पनि आउँदैन' भनी। मैले पनि एसो सम्झिहेरेको मलाई पनि पो आउदो रैनछ। डर डर लागो तैपनी जे त होला भनेर क्लासमा पसेँ। जाँच सुरु भयो।
                                                             she is so me ;)

हाम्रो क्लास मा गार्ड पर्ने म्यामको पर्सानालिटी खत्रा थियो, स्वर उस्तै फेरी। एउटा केटोले सानो स्वरले, अझ  कामेको जस्तो पनि गरेर 'म्याम प्लिज तेस्तरी नबोल्नु न, मलाई कस्तो डर लाग्यो। पडेको कुरो पनि बिर्सें। म्याम प्लिज, बच्चे कि जान लोगे क्या? क्लासमा हासो को फोहोरा छुट्यो बिचरा म्याम अध्यारो हुनुभो।

म आफ्नै सुरमा लेखिराख्या थे पछाडि बाट मसिनु आवाज आयो। को रछ भनेर पछाडि हेरेको एक जोडी आसाले भरिएका आँखा देखेँ। हातले इसारा गरो। मैले अगाडिको पाना पल्टार यो? भनेर ईशारा गरेँ। उस्ले होइन भनेर फेरी हातले ईशारा गरो। अलिकती उस्ले देख्ने एङलतिर फर्कार लेख भन्न खोज्या रइछ। मैले पनि तेसै गर्दिये। खासमा म जाँचमा मान्छे हरुलाई सहयोग नै गरौं भन्ने मान्छे। हातले पुरै छोपेर कसैले हेरी पो हाल्ला कि जस्तो गरेर जिउ नै कपी मै घोप्टो पारेर लेख्न मलाई कैले आएन। सिकाउन त मन लाग्छ नि तर सही उत्तर आँफै पो तेत्ती सारो आउँदैन त। केटो मक्ख पर्दै हेरेर लेख्न थालो।    
     
म भन्दा २ बेन्च अगाडि एकजना निक्कै पाको उमेरको कपाल सेतै फुलेको दाजु हुनुन्थ्यो। बाहिर बाट अचानक तिनचार जना सर पसेर चिट चेक गर्न थाल्नुभो। ति दाजुको सर्ट भित्र कुन रङको गेस पेपर छ भनेर प्रस्टै देखिन्थ्यो। सरले 'भाई त्या के छ निकाल्नुस्!' भन्दा ति दाजु चै 'केइ पनि छैन, केइ पनि छैन' भन्दै हात हल्लाउदैथे। सर अली कड्केर बोलेपछी अमिलो मुख लाउदै दुइटा गेस पेपर निकालेर दिये। तेस्को एक्छिनमा अचानक ठाउँ सरेर पछाडि गर बसे। म्यामले आफ्नै ठाउँमा आर बस्नुस् भन्दा हात जोडेर' प्लिज म्याम मलाई त्या साह्रै जाडो भो, मलाई यही बस्न दिनुस्' भनेर रुनै खोजे। म्यामले पनि केइ भन्न सक्नु भएन। पछाडि गाको १० मिनेट नबित्दै दाजु चिट सहित पक्राउ परेर क्लास बाट निस्कासित भए।

जाँच सुरु भको भको २ घण्टा जती पछी म्याम को नजर मेरो कपी सार्ने केटामा परो। म्याम ले मलाई जोड्ले हप्काउनुभो 'कपी छोपेर लेख्नुस् बैनी नत्र म अगाडि सार्दिन्छु' मैले हतार हतार सरी म्याम भनेर कपी छोपेजस्तो गरेँ। आफुलाई आउने जती लेखेर सकिसक्या थेँ, एउटाको उत्तर अली कन्फ्युज भको भर मैले पैचो लाको केटोलाई सोधे। केटोले उत्तर भन्दियो तर साथमा 'म पनि सियोर छैन मिलेन भने गाली नगर ल' भनेर वार्निङ पनि दियो। म उस्लाई सोध्दै लेख्दै गर्दैथे म्यामको नजर परी त हालो। म्यामले 'अब चै बैनी म साच्चै अगाडि सार्दिन्छु' भनेर थर्काउनुभो। मैले सानु स्वरले 'म्याम अब त कपी नै खोस्दिनु भो भने पनि पास हुन्छु' भने। म्यामले सुनी त हाल्नु भएछ हल्का लुक दिहाल्नु भो तर ठाउँ चै सार्दिनु भएन धन्न।

एस्तै गर्दै गर्दै ४ घण्टा बितार कपी बुझार म बाहिर निस्के। बाहिर निस्केर एस्सो केटोले सिकाको वाला उत्तर चेक गरेको गल्ती रइछ :(              

काजी र ट्यापे


काजी र ट्यापे मेरा ११\१२ पढ्दा का साथी। दुबैजाना क्लासमा भन्दा चिया पसलमा बडी भेटिने। म कलेजको गेट तिर जादै गर्दा परैबाट बोलाउथे- 'ओ जिग्री क्लास मा सबैभन्दा पैला पुग्नेलाई पुरस्कारको ब्यवस्था छैन क्यारे आउ एक्छिन बस'।
क्लास जान ढिलो होला भनेर म सकेसम्म टार्ने कोशीस गर्थें।
'तिमिहरु चुरोट खान बस्या त हौ नि! मलाई झ्याउ लाग्छ म क्लास नै जान्छु'।
'होइन हो ज्ञानी! तिमीलाई चै कस्ले चुरोट खान बोलाछ र? त्यो त हामीलाई नै पुग्दैन। तिमी त चिया खाउ चिया। चुरोट त प्लिज खान्छु नि देउ न देउ भनेनी दिन्नम के'
मलाई जान कर लाग्थ्यो। मलाई चुरोट खाने मान्छे खराब हो तेस्ताको संगत गर्न हुन्न भन्ने कैले नि लागेन। गफमा भुलाउछन क्लास को टाईम उड्ला भन्ने मात्रै पिर हुने हो। एक्छिन बसेर चिया सिया खाँदा फर्स्ट क्लासको ५\७ मिनेट त उडाइदिहाल्थे केटाहरु।म हतार हतार क्लास तिर कुद्थेँ। सर तिर नहेरिकन घोसे मुन्टो लार पछाडि गर बस्थेँ। सुरु सुरुमा त तिमीहरु पनि हिन न भन्थेँ तर खास्सै पार नलाग्ने देखेर भन्न छोडें। उनिहरुलाई मन लागे कैले आइपनी हाल्थे कैले बाहिर बाटै घर जाने बेला हुन्थ्यो। काजी र मेरो घर एकैतिर भकोले हामी सँगै घर जान्थ्यौ ट्यापे पनि आफ्नु घरतिर लाग्थ्यो। म सबैकी ज्ञानी उनिहरु सबैका बदमाश। हामीलाई सँगै देख्दा कोइ हास्थे कोइ अचम्म मान्थे कोइ गाली गर्थे। मलाई असर गरेन तेस्ले किनकी बुवालाई हाम्रो मित्रतासँग कैले आपत्ति भएन। तेती भये मलाई पुग्ने।

केही पछी म पढ्न काठमाडौं आएँ। म घर पुगेपछी पैलो काम उनिहरुलाई फोन गर्ने हुन्थ्यो। उनिहरु पनि उडेर आइपुग्थे मेरो घर। काजीले बिहा गरो। ट्यापे र म हौसेर जन्ती गयौँ। भाउजु पनि फेरी ठ्याक्कै हाम्रै ग्रुपमा मिल्ने खाल्की आइदिनुभो झन रमाइलो भो। पछी ट्यापे बिदेश गयो, म आफ्नै पढाईमा काजी र कजिनी आफ्नै घर गृहस्तीमा ब्यस्त भैयो।

अस्ती घर गको बेला काजी आफ्नु सानु छोरो लेर भेट्न आयो। म तिर देखार 'तेरो बाउको जिग्री हो नमस्ते गर् मोरा' भनो। फुच्चेले पनि सानु स्वरले 'नमस्ते भनेर लजार बाउको पछाडि गर लुको। मलाई खुशी लागो......

मन

प्रिय,
उ सधै तिमीलाई हेर्दै नहेरी जान्छ
यो सधैं दोहोरिरने प्रकृया हो
अनी तिमीले उस्को बाटो कुर्ने
त्यो पनि सधैं दोहोरिने प्रकृया हो

म दुख्छु भन्ने डरले तिमी
मलाई फकाउछेउ फुल्याउछेउ
म पनि फुल्लिये जस्तो गर्दिन्छु
तिम्रा चिसा आँखा कस्लाई पो हेर्न मन छ र

तिमीले म मा सजाएर राखेको तस्बिर
नचाही नचाही साथ लिएर हिन्नु छ
उस्लाई खुशी पार्ने तिम्रा प्रयासमा तिमीलाई साथ दिनु छ

ए साँच्ची!!
तिमीले मलाई चिन्यौ?
म उही तिम्रो
मात्र तिम्रो..........














Also see:
सेवा 
प्रमोद 
जय 

Total Pageviews